सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार सिामान्य अंकले बढेको छ। सोमबार बजार खुलेदेखि लगातार दोहोरो अंकले घटेको बजार अन्तिम समयमा सम्हालिदै ३.०४ अंकले बढेको हो। यससँगै समग्र नेप्से १ हजार ८ सय ७९.७० विन्दुमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा यो ०.१६ प्रतिशतले बढी हो। दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार दिन आइतबार नेप्से २८ अंकले घटेको थियो।
करिब तीन साता अघि राष्ट्र बैंकले परिमार्जन गरेको नीतिगत व्यवस्था लगानीकर्ताले नरुचाएपछि नेप्से लगातार घटिरहेको थियो। तर, सोमबार बजारले सुधारको संकेत देखाएको हो।
सोमबार ३० हजार २ सय ३७ वटा कारोबारबाट २८ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ। ती किनबेचमा ६९ करोड ४२ लाख २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । आइतबार सेयर बजारमा ७४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १२८ वटा कम्पनीको सेयर मूल्य बढ्यो। ९७ वटा कम्पनीको घट्यो भने १४ वटाको सेयर मूल्य स्थिर छ।