अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै व्यापारिक घराना वा निश्चित बर्गलाई फाइदा हुने गरी करको दर हेरफेर नहुने स्पष्ट पारेका छन्।
सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दायरा हेरफेर लगाएतका नीतिगत भ्रष्टाचार नहुने र नदिने स्पष्ट पारेका हुन्। समग्र अर्थतन्त्रलाई मध्यनजर राखेर आगामी आर्थिक बर्षको बजेट आउने उनले बताए। उनले मुलकभित्र उत्पादनलाई बढाउने, उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने लगाएतका कुरालाई बजेटमार्फत प्राथमिकतामा राखिएको जानकारी दिए।
उनले अहिले आर्थिक बर्षको नौ महिनापछि बजेट उपलव्ध गराउन माग गर्ने र ठेक्का लगाउने प्रवृतिलाई आफुले रोकेको जानकारी दिदै बजेटपछि लगत्तै कार्यान्वयनका लागि कार्यतालिका बनाउने बताए।
बजेटमार्फत पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन गर्नेमा ध्यान केन्द्रति हुने उनको भनाइ छ। अर्थमन्त्री महतले अहिलो राजस्व कम उठेको क्षेत्रलाई सुधार गर्ने प्रयास भइरहेको भएपनि आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्ने अवस्थानमा रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले वैदेशिक ऋणले नेपालको अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन भन्ने बिषयमा समिक्षा हुन जरुरी रहेकाले समिक्षा मार्फत खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता रहेको बताए।
बैठकमा समिति सदस्यहरुले बजेट कार्यान्वयनको चूनौतिलाई ध्यान दिन सुझाव दिएका थिए। एमाले सांसद सुर्य थापाले उपभोग्य बस्तुको परनिर्भरतालाई कम गर्न मुलुकमा उत्पादन बढाउने र आयात कम गर्ने योजनाको अभाव रहेको भन्दै यसमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिए। रास्वपा सांसद डा स्वर्णिम वाग्लेले बिगत १० बर्षदेखिको बजेट हेदा कार्यान्वयनको खाँचो रहेको रहेको भन्दै यसमा ध्यान दिन सुझाव दिए।
त्यस्तै समिति सदस्यहरु विराजभक्त श्रेष्ठ, भवानी खापुङ, ज्ञानेन्द्र शाहीलगायतले बजेटलाई कर्मकाण्डी मात्रै नवनाएर मुलुकको आर्थिक समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुन सुझाव दिएका थिए ।