मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीमा दर्ता नभएका मोबाइल आजदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाउन लागिएको हो ।
भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विगत एक हप्तायता सार्वजनिक सूचना नै जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाइएको हो । प्राधिकरणको सूचनाअनुसार अबदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ ।
विदेशबाट व्यक्तिगत रूपमा ल्याइने मोबाइल पनि भन्सार प्रज्ञापनपत्र घोषणा भएको हुनुपर्ने प्राधिकरणले जनाएको छ । त्यस्तो प्रज्ञापनपत्रलाई अनलाइनमार्फत एमडीएमएस प्रणालीमा दर्ता गरेर मात्र प्रयोग गर्न सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ । यद्यपि व्यक्तिगत रूपमा नेपाल ल्याउने मोबाइल पहिलो दुई हप्ता भने दर्ताबिनै प्रयोग गर्न सकिनेछ । प्राधिकरणले गत भदौ ३० गते पहिलो पटक परीक्षण कालका एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको थियो ।
प्राधिकरणले करिब ८० करोड रुपियाँ लगानीमा एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको हो । यो प्रणालीसँग सबै दूरसञ्चार सेवा प्रदायक र भन्सार प्रणाली आबद्ध हुने व्यवस्था गरिएको छ । प्रणालीमा दर्ता नभएका मोबाइललाई कालोसूचीमा राखेर त्यस्ता मोबाइलमा ‘नेटवर्क लक’ गर्न प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिनेछ । प्राधिकरणले पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको यो प्रणालीको सन्दर्भमा भने आलोचना पनि भइरहेको छ ।