राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिममा पुगेकाले यही चैतमै पथान्तरण गर्न सकिने सम्भावना बढेको हो ।
आयोजनामा रहेका संरचनाको सरसफाइ अन्तिम पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले ‘हेडवर्क’ सबै संरचना खुलाउन नसकिएकाले अस्थायी रुपमा चलाउन खुलाउनैपर्ने ठाउँमा मात्रै खुलाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले अस्थायीरुपले पानी चलाउन मात्रै संरचना बनाइएको छ र वर्षा सुरु भएर धमिलो पानी आएपछि त्यो बन्द गर्नुपर्छ ।
अहिले गत वर्षजस्तै चाँडो मनसुन सुरु भएमा चाँडो बन्द गर्ने हुनसक्छ ।सुरुङमा अहिले गेट नं १, ९ र ३८ मा मर्मतको काम भइरहेको समितिले जनाएको छ । वैकल्पिक प्रणालीमा नदीको पानी गेट नं १ बाट भित्र पठाउने र ३८ ले नियन्त्रण गर्नेछ र गेट नं ९ बाट पुनः खोलामा पठाउने गरिन्छ । यी तीन गेटमा मर्मत गरेर पानी अस्थायीरुपमा पठाइने र पुरिएका संरचनामध्ये अहिले गेट नं १ देखि ९ सम्म २१० मिटर लम्बाइको सुरुङ सफा भइरहेको सूचना अधिकारी पन्तले बताए । मुख्य सुरुङसँग जोडिएको सहायक सुरुङका रुपमा रहेको अम्बाथान अडिटमा सफाइको काम भइरहेको छ ।
मेलम्ची नदीबाट सुरु भएको २९८ मिटर लामो सो अडिटबाट भित्र गएर मुख्य सुरुङमा जोडिन्छ । यो सुरुङमा बाढीका कारणले गिट्टी बालुवा र ढुङ्गा थुप्रिएको थियो । उनले भने, “सफा गर्ने काम अन्तिम चरणमा छ ।” गेट नं १ बाट अम्बाथान अडिटको मुखभन्दा तलसम्म खोलाको पानी बग्ने गरी स्लोप (भिरालो जमिन) बनाउनुपर्ने सूचना अधिकारी पन्तले बताए । अहिले गेट नं १ र ९ मा सफाइ गर्दा गहिरो खनिएको छ र त्योसँग मिल्ने गरी अर्को खन्नुपर्नेछ । त्यहाँका संरचना वर्षापछि १०/१६ मिटर पुरिएकामा अहिले हटाउन लागिएको छ ।उनले भने, “तह मिलाउने काम भइरहेको छ ।” आयोजना निर्माणकै क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायी रुपमा चलाउने योजना बनाइएको छ ।
गेट नं १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो । पहिले गेट तल माथि गर्ने र बन्द तथा खोल्ने काम विद्युतीय प्रविधिमा हुने गरी संरचना बनाइएकामा अहिले अस्थायी रुपमा मान्छेले गर्नुपर्छ । आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले खोला छेउमा रहेका बस्तीको सुरक्षामा पहिले ध्यान दिनुपर्ने माग गरेका छन् । बाढीका कारण गत वर्ष खोला छेउमा थुप्रिएको गेग्र्यान हटाउनुपर्छ भन्ने स्थानीयवासीले माग गरेका छन् । नदी नजिकै रहेका बस्तीका बासिन्दाले गेग्र्यानका कारण पुनः गत वर्षको नियति दोहोरिन सक्ने आशङ्का गरेका छन् ।
बाढीका गत वर्ष आयोजनासँगैको बस्तीमा भौतिक र मानवीय क्षति भएको थियो । अहिले अस्थायीरुपमा ‘हेडवर्क’ मा काम गर्दा स्थानीयवासीलाई बेवास्ता गरेको धेरैको आशंका रहेकोे सूचना अधिकारी पन्तले बताए ।