सत्ता र प्रतिपक्षबीचको राजनीतिक लडाइँले मुलुकको अर्थतन्त्रमा असर परेको छ ।प्रतिनिधिसभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारबाट सरकारी खर्च गर्ने बाटो बन्द भएको हो ।
संसद् दलीय स्वार्थको बन्धक बन्दा मुलुकमा पहिलोपटक सरकारी खर्चै गर्न नसक्ने अवस्था सिर्जना भएको हो ।आजबाट सरकारले कर मात्रै उठाउन पाउने भए पनि सांसद, कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का भएको छ ।सरकारी खर्च सटडाउनको अवस्था आउनुको दोष सरकार र प्रतिपक्षले एकअर्कामाथि लगाइरहेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार विनियोजन विधेयक प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा एमालेको नाराबाजजीका बीच पेस गरेका थिए । एमालेले आफू सरकारमा हुँदा ल्याएको विनियोजन अध्यादेश पारित गर्न अवरोध गरेको हुँदा सरकारी खर्च सटडाउनको अवस्था आएको आरोप लगाएको छ ।
सत्ता र प्रतिपक्षको संसद्मा जारी लडाइँले केही महत्त्वपूर्ण अध्यादेश पनि निष्क्रिय भएका छन् । अध्यादेश निष्क्रिय हुँदा कोभिड– १९ सँग सम्बन्धित काममा कानुनी अड्चन र अभाव देखिएको छ ।