सरकारले पर्सीबाट सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउन गरेको निर्णयप्रति यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । आन्तरिक हवाई उडान नरोक्ने अनि यातायातका साधन सञ्चालनमा मात्र रोक लगाउने सरकारको निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।
कोरोना संक्रमण फैलिन नदिनका लागि यो निर्णय गरिएको हो भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ ।हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्य मापदण्ड पालना गर्ने भएकाले लामो दुरीका सवारी साधन चलाउन दिनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
महाचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए स्वस्फूर्त अवज्ञा हुनसक्ने चेतावनी दिए ।सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक सातासम्मको लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।