आज ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी आजदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ ।
दिवसको अवसरमा भन्सार विभागले आज नेपाल राष्ट्रिय एकद्वार प्रणाली सार्वजनिक गर्दै छ । अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको विभागले जनाएको छ ।
डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरिरहेको उक्त प्रणाली पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । विभागका अनुसार यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्र आबद्ध हुनेछन् ।
भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका ४० वटा निकाय आबद्ध हुनेछन् । यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् ।
यससँगै फरक फरक निकायलाई कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ । कर्मचारीको अनुहार नै नहेरी काम हुने वातावरण यसले बनाउँछ ।