जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ ।
लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको चाप बढेको हो । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ ।
अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । सवारी साधनको चाप बढेसँगै पेट्रोल र डिजेलको खपतमा समेत वृद्धि भएको छ ।
नेपाल आयल निगम थानकोट डिपोका प्रमुख प्रदीप यादवका अनुसार अन्य दिनको तुलनामा पेट्रोल र डिजेलको खपतमा १०० किलोलिटरसम्म वृद्धि भएको छ । गत शुक्रबारसम्म दैनिक २०० किलोलिटर पेट्रोल र ४०० किलोलिटर डिजेलको खपत हुँदै आएकामा आइतबार २२६ किलोलिटर पेट्रोल र ५२९ किलोलिटर डिजेल खपत भएको छ ।
सोमबार २८८ किलोलिटर पेट्रोल र ४३७ किलोलिटर डिजेल खपत भएको सो डिपोले जनाएको छ । प्रमुख यादवका अुनसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५ प्रतिशत र डिजेल ७५ प्रतिशत मौज्दात रहेको छ ।
क्षमता हुँदाहुँदा पनि भारी मात्रामा तेल राख्न नमिल्ने कारण ट्याङ्करमा नै तेल राखिएको उहाँले जानकारी दिए । उनका अुनसार ८० ट्याङ्कर पेट्रोल र १२० ट्याङ्कर डिजेल डिपोमा राखिएको छ । लकडाउनभन्दा अघिसम्म उपत्यकामा मात्र दैनिक ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको खपत हँुदै आएको थियो ।