प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले मुलुकभर रहेका पुराना पुलहरुलाई विस्थापित गर्दै नयाँ पुल निर्मााण्को प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राणनीतिक सडक अन्तर्गत रहेका पुराना पुललाई विस्थापित गर्दै नयाँ पुल निर्माण प्रक्रिया सुरु गर्न भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले हाल निर्मार्णाधिन अवस्थामा रहेका कतिपय पूलहरु डिजाइन मै समस्याग्रस्त देखिएकाले आगामी दिनमा निर्माण गरिने पुलहरु डिजाइन एण्ड विल्ड प्रविधिबाट अगाडी बढाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले निर्माणको प्रक्रियामा रहेका र निर्माणधिन रही बजेटको अभावमा अलपत्र अवस्थामा रहेका पुलहरुको अवस्था यकिन गरी अर्थमन्त्रालय र योजना आयोजसंग समन्वय गरि स्रोत जुटाइ सम्पन्न गर्न र प्राथमिकता दिएर मात्र अन्य पुल निर्माणको प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकले डिजाइनमा समस्या भएका निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबु बाहिरको अवस्थामा पुगेका पुलहरुको विवरण र समस्या समाधानका लागि कार्ययोजना समेत १५ दिनभित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
बैठकमा बैठकमा सडक विभागका महानिर्देशक केशव शर्माले बजेट र दक्ष जनशक्तिको अभावले पुल निर्माणमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए । उनले बिभिन्न नदीमा पुलको अवलोकन गरेको भन्दै नयाँ बनाउनुपर्ने वा पुरानोलाई ममर्त गर्ने भन्ने बारेमा छलफल भइरहेको बताए ।
त्यस्तै सांसदहरुले रणनीतिक सडकका पुल र अन्य पुल निर्माणले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । पुल निर्माणमा कामभन्दा कुरा बढी भएको टिप्पणी गर्दै तत्काल समस्या पहिचान गरी समाधानतिर लाग्न उनीहरु सुझाव दिए ।
समितिको बैठकमा पुल महाशाखाका प्रमुख दीपक भट्टराईले मुलुकभर जम्मा दुई हजार ९१ ओटा रणनीतिक सडकका पुल निर्माण गर्नुपर्नेमा ४२५ निर्माण सम्पन्न भइसकेको, करिब १६ सय निर्माणाधीन अवस्थामा र केही पुलहरुको निर्माण काबुबाहिरको परिस्थितिमा रहेको जानकारी दिए विभागले चालू आर्थिक वर्षमा ३०० ओटा थप पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।