सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी भएको छ। आगलागीबाट लाखौंको क्षति भएको दुवै उद्योगका सञ्चालकहरुले बताएका छन्।
पशुपति विस्कुट उद्योगमा मंगलबार राति करिब ८ बजेदेखि लागेको आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको थियाे।
आगलागी भएको इलाका इटहरी प्रहरी कार्यालयले जनाएको छ। आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट पाँच वटा वारुणयन्त्र पुगेका थिए। स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत खटिएका थिए।
यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा पनि गएराति आगलागी हुँदा तयारी कपडा, मेसिनलगायत करोडौंको सामान जलेर नष्ट भएको सञ्चालकले बताएका छन्।
उद्योगमा साँझ साढे छ बजे आगलागी भएको थियो। काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाइसकेको अवस्थामा उद्योगमा अचानक आगलागी भएको सञ्चालकले बताएका छन्।