मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ। हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ।
त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ। नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको छ। जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा निर्माण कार्य भने सुरु भइसकेको छैन।
समृद्धि र विकासलाई तीव्रता प्रदान गर्न सरकारले सुरुङमार्ग निर्माणमा जोड दिएसँगै मुलुकको यातायात सुरुङ युगमा प्रवेश गर्न लागेको भनाइ सरकारको छ। नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको निर्माण कार्य सुरु भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको शिलान्यास गरेका थिए। अहिले त्यहाँ काम भइरहेको छ।
पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ। त्यसैगरी मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ। गाेरखापत्रमा खबर छ।