नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ ब्याङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन्। सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै ढकालले अष्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई नेपालमा लगानीका लागि आफ्नो ब्याङ्कले सहजकर्ताको काम गर्ने उल्लेख गरे।
उनले गैर आवासीय नेपालीको समेत लगानीमा निर्माण हँदै गरेको दोर्दी जलाबिुद्युत आयोजना छिट्टै संचालनमा आउने जानकारी गराए। उनले हाल भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो ब्याङ्कको अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको पनि बताए।
नेपालमा प्रदेश–प्रदेश र स्थानीय सरकारबीच विकासमा प्रतिस्पर्धा सुरु भएकाले लगानीका सम्भावना झनै बढेको उनको भनाई थियो। आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनले जानकारी गराए।
अन्तरक्रियामा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैरआवासीय नेपालीको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए। उक्त कोष निर्माणसंगै नेपालमा गैरआवासीय नेपालीको ठुलो तथा संयुक्त लगानी सुरु हुने बताए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैरआवासीय नेपालीमा लगानीको आत्माबिश्वास अझै पैदा नभएको बताए।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैरआवासीय नेपालीले ठुलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई बिश्वास भएको भन्दै आफुहरुले पुँजी संकलनमै जोड दिनु पर्ने बताइन्।