चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको छ। नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ। निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ।
एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो। १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो।
३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्यांकन गराएका थिए।
फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर (७३ करोड रुपैयाँ) राख्न सिफारिस गरेका थिए। उनीहरूले ५२ लाख ९६ हजार डलर (६० करोड ३७ लाख रुपैयाँ)भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए। यो सिफारिस आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो। र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्यो।
निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर (करिब ८८ करोड) निर्धारण गरेको थियो। तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्यो। जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर (४८ करोड ५० लाख रुपैयाँ) कायम भएको छ। तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो।
‘स्विस कम्पनीले ७३ करोड रुपैयाँमा बिक्री गर भन्ने सुझाब दिएको हो। तर, उक्त मूल्यांकनअनुसार बिक्री हुने नदेखिएपछि मूल्य घटाउनुपरेको हो,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘मूल्य घटाउन सञ्चालक समितिमा प्रस्ताव लगेका हौँ। त्यही आधारमा मूल्य घटाउने निर्णय भएको हो। हाम्रै प्राविधिकले अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो।’
आधाजसो मूल्य घटाएर सूचना निकालेपछि बोइङ किन्न तीन कम्पनीले आवेदन दिएका छन्। अमेरिकी कम्पनीहरू एभियोन र एमके एभिएसन तथा पोल्यान्डको सिएस बिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङले निगमको बोइङ किन्ने इच्छा देखाएका छन्। नयाँ पत्रिकामा खबर छ।