धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न यो सब स्टेसन अपरिहार्य मानिँदै आएको छ।
मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो सबस्टेसन जीआईएस प्रविधियुक्त तथा स्वचालित प्रकृतिको बन्दै छ। सबस्टेसनको निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात तथा निर्यातका लागि पनि पूर्वाधार तयार हुने छ। कुल ९४५ केभीए क्षमताका ट्रान्सफर्मर जडित उक्त सबस्टेसनले २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिने छ।
वर्षायाममा बढी भएको ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिने छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न र वर्षात्मा बढी हुने विद्युत् भारत पठाएर इनर्जी बैङ्किङ गर्नसमेत बाटो खुल्ने बताए। गाेरखापत्रमा खबर छ।