नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक महिनाभन्दा कम समय छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ दिनपछि जनवरी १ मा भ्रमण वर्ष उद्घाटन गर्ने कार्यक्रम पनि तय भइसकेको छ। भ्रमण वर्ष संयोजक सुरज वैद्यसँग प्रभावकारी समन्वय नहुँदा उनैले नेतृत्व गरेको ‘कार्यक्रम कार्यान्वयन उपसमिति’ का सदस्य र कर्मचारी भने अझै अलमल्ल छन्।
भम्रण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिकासदस्य नवराज दाहालले उपसमितिमा गहन छलफल नै नहुने गरेको बताए। ‘उद्घाटन कार्यक्रम त भव्य नै होला तर के कसरी हुने भनेर खाका आइसकेको छैन,’ उनले भने, ‘भम्रण वर्षको टिमभित्र हामी आफैं अलमलिएका छौं।’ सरकारले सन् २०२० मा नेपाल घुम्न आउने पर्यटकको बसाइ कति दिन बढाउने र आम्दानी कति बढ्ने भनेर आधिकारिक धारण सार्वजनिक नगरेको उनले बताए।
‘पर्यटनमन्त्रीले कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतबाट १० प्रतिशत पुर्याउने भाषण गरेको सुनेँ तर यो कुनै आधारमा टेकेर बाहिर आएको अभिव्यक्ति होइन,’ ट्रेकिङ व्यवसायीहरूको छाता संगठन (टान) का निवर्तमान अध्यक्षसमेत रहेका उनले भने।
दाहालका अनुसार सरकारले २० वर्षअघि गठन गरेको नेपाल पर्यटन बोर्डले नेपाल प्रवर्द्धन गर्न जे कार्यक्रम गर्दै आएको छ, त्यस्तैलाई भम्रण वर्ष सचिवालयले निरन्तरता दिएको छ। ‘भ्रमण वर्षमा पर्यटकलाई भिसा छुट, थप विमानस्थल निर्माण तथा सञ्चालन, पदयात्रामा मौसम पूर्वानुमान उपकरण, बिसौनीजस्ता पूर्वाधार निर्माण, नयाँ ट्रेकिङ ट्रेल खुलालगायत काम हुनुपर्ने हो तर काठमाडौं विमानस्थललाई बुटिक बनाउनेबाहेक चर्चा गर्नलायक काम खासै भएका छैनन्,’ दाहालले भने।
भ्रमण वर्ष सञ्चालन गर्न दुइटा शक्तिशाली समिति छन्– एउटा पर्यटनमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति, अर्को पर्यटन सचिवको अध्यक्षतामा कार्यक्रम कार्यान्वयन उपसमिति। मन्त्री नेतृत्वको समितिमा ९३ र कार्यान्वयन उपसमितिमा १९ जना सदस्य छन्। दुवै समितिले डाकेका बैठकमा पूरा सदस्य सहभागी हुँदैनन्। कान्तिपुरमा खबर छ।