वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन्। पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन। भाषा परीक्षामा भने एक जना पास भएका छन्।
भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए। तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए। जसमा ५६ जना मात्र उत्तीर्ण भए। उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीक्षाम सबै असफल भएका थिए।
जापान सरकार र नेपाल सरकारबीच गएको चैत ११ गते जापानी नागरिकसरहको सेवा सुविधा दिएर जापान नेपाली श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको थियो। जापानले नेपाल, चीन, इन्डोनेसियालगायतका नौ देशका युवा श्रमिकलाई रोजगारको अवसर दिने गरी सुरु गरेको थियो।
कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ। पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिएकामा नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गाेरखापत्रमा खबर छ।