नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर थियो । साताको दोस्रो दिन (सोमबार) सुनचाँदीको भाउमा अलिअलि भए पनि गिरावट आयो । हिजो अर्थात् साताको तेस्रो दिन (मंगलबार) भने सुनचाँदीको भाउ उकालो लागेसँगै आज (बुधबार) पनि सुनचाँदीको भाउ बढेको छ ।
आज सुन प्रतितोला सय रुपैयाँले बढेको छ । यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (मंगलबार) भने छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने ७१ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला सय रुपैयाँले बढेर कारोबार भएको महासंघले जनाएको छ ।
यता चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँ मात्र बढेको छ । हिजो प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढ्दै ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंसिर लागेसँगै बिहेको लगन पनि सुरु भएको छ । लगनकै मुखमा सुनचाँदीको भाउ बढ्दा उपभोक्तालाई खरिद गर्न एकपटक सोचविचार गर्नैपर्ने अवस्था छ ।