देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने भएको छ । कुल गार्हस्थ उत्पादनका लागि हाल कायम गरिएको आव ०५७/५८ का आधारमा अर्थतन्त्रको वास्तविक आकार आउन नसकेको निष्कर्ष निकाल्दै आधार वर्ष फेर्ने विषयमा छलफल अगाडि बढेको हो ।
अहिलेको आधार वर्ष अलि पुरानो भएको र त्यसले अर्थतन्त्रका सबै विषय समेट्न नसकेकाले परिवर्तन गर्ने विषयमा छलफल जारी रहेको अर्थमन्त्री युवराज खतिवडाले बताए ।
उनले हाल कायम आधार वर्षलाई परिवर्तन गरी कुनै साधारण वर्षलाई आधार मान्ने दिशातर्फ छलफल भइरहेको पनि जानकारी दिए । 'आव ०६७/६८ अथवा यस्तै साधारण वर्षलाई आधार वर्ष बनाउने कि भन्ने विषयमा कुरा भइरहेको छ,' उनले भने । अर्थतन्त्रमा विकसित पछिल्ला उपलब्धिलाई समेट्ने गरी आधार वर्ष तयार हुने उनले बताए । -गोरखापत्र दैनिकबाट