नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । चाडबाड सकिएसँगै सुनचाँदीको भाउ ओरालो लागिरहेको छ । आज पनि नेपाली बजारमा सुनचाँदी दुवैको भाउ ह्वात्तै घटेको छ ।
गएको शुक्रबारयता स्थिर रहेको चाँदीको भाउ हिजो (मंगलबार) देखि निरन्तर ओरालो लागेको हो । सोमबारसम्म प्रतितोला ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको भाउ हिजो (मंगलबार) भने ५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज पुन: प्रतितोला २० रुपैयाँले घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ कायम छ ।
यस्तै तलमाथि भइरहने सुनको आज ह्वात्तै घटेको छ । महासंघका अनुसार छापावाल र तेजाबी सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । मंगलबार ७० हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बुधबार ६ सय रुपैयाँले घट्दै प्रतितोला ७० हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै ६ सय रुपैयाँ प्रतितोला नै घटेको तेजाबी सुनको आज (बुधबार) को बजार भाउ ६९ हजार ९ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
हिजो (मंगलबार) भने तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँले कारोबार भएको थियो । हिजोको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो । चाँदीमा भने प्रतितोला २० रुपैयाँले गिरावट आएको महासंघले जनाएको छ ।
चाडबाड सकिएसँगै सुनचाँदीको भाउ घट्न सक्ने अपेक्षा गरिएको थियो । आजसम्मको अवस्था हेर्दा सुनचाँदीको भाउ तलमाथि भइरहे पनि तुलनात्मक घटेको अवस्था हो । अहिले सुनचाँदीको भाउ घटेसँगै उपभोक्ता पनि बढेको सुनचाँदी व्यवसायीहरुको अनुभव छ ।