नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका लागि आवश्यक खाका तयार गर्ने भएका छन्।
आजदेखि काठमाडौंमा शुरु भएको नेपाल–बंगलादेश प्राविधिक समितिको चौथो बैठकमा यसलाई टुग्याउने तयारी गरिएको हो। अघिल्लो वर्ष काठमाडौंमा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय वार्तामा दुई देशबीच वाणिज्य तथा पारबाहन सन्धि गर्ने समझदारी भएको थियो।
प्राविधिक समितिको वार्ताले दुवै मुलुकका निश्चित वस्तुलाई सहज बजार पहुँच दिने गरी व्यापार सम्झौता गर्ने विषयको खाका तय गर्ने तयारी छ। प्राविधिक समितिको वार्तामा प्रिफेरेन्सियल व्यापार सम्झौताका विषयमा समझदारी गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तयारी छ।
व्यापार सम्झौता गर्ने विषयमा दुवै मुलुक सहमत भएपनि मोडालिटी भने टुंगिन बाँकी छ। नेपाल र बंगलादेशले शून्य भन्सारको सुविधा उपलब्ध गराउने बस्तुहरुको सूचि एकअर्काे देशलाई पठाइसकेका छन्।
दुईपक्षीय वार्तामा विराटनगरबाट बंगलादेशमा क्षेत्रीय उडान, भारत–बंगालादेशबीचको जलमार्गमा नेपाललाई जोड्ने, काठमाडौं–ढाका बस सेवा नियमित गर्ने, नेपालको धागो बंगलादेशले सहज पहुँच दिने लगायतका विषयमा छलफल हुनेछ।