चिनियाँ राष्ट्रपति सी चिनफिङले डेढ महिनापछि सुरु हुन लागेको ‘नेपाल भम्रण वर्ष २०२०’ लाई मद्दत गर्ने उद्देश्यले आफ्ना नागरिकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने बताएपछि सरोकारवालाहरू उत्साहित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको राजकीय रात्रिभोजमा सीले आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउने प्रतिबद्धता जनाएपछि उनको भम्रण पर्यटन क्षेत्रका लागि झन् महत्त्वपूर्ण भएको पर्यटनमन्त्री योगेश भट्टराईले कान्तिपुरसँग बताए। ‘भम्रण वर्ष मनाउने तयारीमा रहेका बेला उहाँले आफ्ना नागरिकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने बताउनुले ठूलो महत्त्व राख्छ,’ भट्टराईले भने। सीले शीतलनिवासमा आयोजित द्विपक्षीय वार्तामा पनि यस्तै प्रतिबद्धता जनाएको उनले जानकारी दिए।
उनका अनुसार चिनियाँ राष्ट्रपतिले गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई प्रवर्द्धन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिबद्धता जनाएका छन्। दक्षिण एसियाका अधिकांश मुलुकमा चिनियाँ पर्यटकको संख्या पहिलो स्थानमा छ। चिनियाँ राष्ट्रपति सीले आफ्नो विशेष आलेखमार्फत ‘दक्षिण एसियामा चिनियाँ नागरिकको छनोटको पहिलो गन्तव्य नेपाल भएको’ बताइसकेका छन्।
आगामी वर्ष चिनियाँ पर्यटकको संख्या ५ लाख पुग्ने प्रक्षेपण पर्यटनमन्त्री भट्टराईले गरेका छन्। सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी आएका थिए। यीमध्ये सबैभन्दा धेरै भारतबाट २ लाख आएका थिए भने दोस्रो स्थानमा परेको चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या १ लाख ५३ हजार थियो। सन् २०१७ मा पनि चीन दोस्रो स्थानमै थियो। पर्यटनमन्त्री भट्टराईले केही महिनामै नेपाल र चीनबीच हवाई सञ्जाल वृद्धि हुन गइरहेकाले चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे। कान्तिपुरमा खबर छ।