दशैं सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ। दशैंको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैंको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५ प्रतिशतमा झरेको छ। तर, तिहारसम्म इन्धनको माग वृद्धि भइरहने नेपाल आयल निगमले जनाएको छ।
नेपाल आयल निगम थानकोट डिपोका प्रादेशिक प्रमुख बिनितमणी उपाध्यायका अनुसार इन्धनको माग गत सालभन्दा पेट्रोल १५ र डिजेल १० प्रतिशतले वृद्धि भएको छ। यो हरेक वर्ष वृद्धि हँुदै आएको प्रतिशत हो। जाडो मौसम सुरु भएकाले पनि इन्धनको माग बढ्ने प्रमुख उपाध्यायको भनाइ छ।
दशैंका अवसरमा यात्रुको चाप बढेपछि सवारी साधन बढी गुड्ने र बजारको चहलपहलले गर्दा माग बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ। सवारीको चापले गर्दा इन्धनको माग बढेको छ। दैनिक आठ लाख ५० हजार पेट्रोल र सोही परिणाममै डिजेल बिक्री भएको थियो। माग बढे पनि बजारमा इन्धनको अभाव हुन नदिइएको गोइतले जानकारी दिए।
दशैंको बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति रोकिएन। दशैंमा निगमले तीन दिन बिदा मनाए पनि बिक्री वितरणलाई भने निरन्तरता दियो। दशैं तिहारमा माग बढ्न सक्ने भएकाले निगमले पूर्ण क्षमतामा ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरेको थियो। अझ केही दिन इन्धनको माग नघट्ने प्रमुख उपाध्यायको दाबी छ।
दशैंका अवसरमा यात्रुको चाप बढेपछि सवारी साधन बढी गुड्ने र बजारको चहलपहलले गर्दा माग बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ। गोरखापत्रमा खबर छ।