चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा धेरैको चासो केरुङ–काठमाडौं रेलमार्गमा छ। तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो। उद्योग विभागको पछिल्लो तथ्यांकले देखाउँछ, नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो छ र असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरूले कुल १०४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरेका छन्। विस ५० र ६० को दशकमा नेपालमा वैदेशिक लगानीमा अगाडि रहेको दक्षिणी छिमेकी भारतबाट हालसम्म ९४ अर्ब ३१ करोडको प्रतिबद्धता आएको छ।
त्यसो त २०६२/६३ पछि क्रमसँग बढ्दै गएको चिनियाँ लगानी पछिल्लो ५ वर्षयता ≈वात्तै बढेको देखिन्छ। आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्ममा ७७ अर्ब २१ करोडको वैदेशिक लगानी चीनबाट आएको छ। सोही अवधिमा भारतीय वैदेशिक लगानी प्रतिबद्धता ५० अर्ब बराबरको आएको छ। नेपालमा चिनियाँ लगानीकर्ताको आक्रामक उपस्थिति कस्तो छ भन्ने तथ्य चालू आवको पहिलो २ महीनाको वैदेशिक लगानीको तथ्यांकले नै देखाउँछ। विभागका अनुसार पहिलो २ महीनामा आएको कुल १० अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ९० प्रतिशतभन्दा बढी चीनबाट आएको छ। यस अवधिमा उद्योग विभागमा ९ अर्ब ४९ करोड लगानी प्रतिबद्धताका साथ चीनबाट ६३ ओटा उद्योग दर्ता भएका छन्। विदेशी लगानी अन्तर्गत विभागमा दर्ता भएका कुल ७० उद्योगमध्ये ६३ ओटा उद्योग चीनका छन्।
शुरूका वर्षहरूमा साना र मझौला व्यवसाय तथा उद्योगमा आएको चिनियाँ लगानी पछिल्ला वर्षहरूमा ठूला उद्योग र ठूला पूर्वाधार आयोजनामा केन्द्रित हुन थालेको छ। चिनियाँ–नेपाली लगानीकर्ताको संयुक्त लगानी रहेको होङ्सी सिमेन्ट, हुवासिन सिमेन्ट, दमक औद्योगिक पार्क लगायत आयोजना यसका उदाहरण हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बन्ने यो औद्योगिक पार्कमा ६५ अर्ब चिनियाँ लगानी हुँदै छ। लामो राजनीतिक संक्रमणपछि नेपालमा आएको राजनीतिक स्थायित्व, स्थिर सरकार र लगानी क्षेत्रमा भएको नीतिगत सुधारले लगानीको वातावरण बनेको विज्ञहरू बताउँछन्। खासगरी, लगानीका क्षेत्रमा रहेका विगतका झन्झटिला प्रक्रिया विस्तारै हट्दै जानु, लोडशेडिङको अन्त्य हुनु जस्ता पक्षले पनि नेपालमा चिनियाँ लगानीकर्ता आकर्षित भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन्।
उद्योग विभागको तथ्यांक अनुसार चिनियाँहरूको रोजाइमा ऊर्जा पहिलो प्राथमिकतामा परेको छ जसमा हालसम्म ४१ अर्ब ५४ करोडको लगानीको प्रतिबद्धता छ। त्यस्तै, पर्यटनमा २० अर्ब ५७ करोड, सेवा क्षेत्रमा १८ अर्ब, उत्पादनमूलक क्षेत्रमा १२ अर्ब ४८ करोड, कृषिमा ४ अर्ब ३४ करोड तथा खनिज क्षेत्रमा ४ अर्ब ९९ करोडको प्रतिबद्धता हालसम्म आएको छ। आर्थिक अभियान दैनिकमा खबर छ।