बंगुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ। यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ।
विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फ उन्मुख छ। नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ।
पछिल्लोपटक चीनमा बंगुरको मासुको खपतलाई ध्यानमा राख्दै पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ। बंगुरको मासु निर्यात हुनसक्ने प्रचुर सम्भावनालाई महसुस गर्दै सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत लगानीमा हाल १० हजारको सङ्ख्यामा बंगुर उत्पादन गरिएको बंगुर ब्रिडर कृषक सहकारी संस्थाका अध्यक्ष तथा पूर्वसांसद कृष्णबहादुर गुरुङले जानकारी दिए।
कृषि तथा पशुपक्षी विभागका सूचना अधिकृत डा.चन्द्र ढकालले जनताको खाद्य अधिकारलाई सुरक्षित गर्नु अपरिहार्य भएको बताए। उनले भूमिहीन, सुकुम्बासी तथा आर्थिकरुपले पछाडि परेका समुदायको आर्थिक अवस्थालाई माथि उठाउन सरकारले लक्षित वर्गले उत्पादन गरेका गुणस्तरीय बंगुर सङ्ग्रह गरी बधशालाबाट तयार पारिएको मासु चीनमा निर्यात गर्ने उद्देश्यले पोर्क पार्क स्थापना गरिएको बताए। रासस