नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट एक महिनामा (भदौ ११ देखि असोज १५ सम्म) काठमाडौं–ओसाका–काठमाडौं दुईतर्फी उडान २५ पटक गरेको छ।
निगमले १२ वर्षपछि खुला गरेको यो रुटमा एयरबसको ए३३० वाइडबडी विमानबाट सेवा दिइरहेको छ। एक महिनामा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा एकतर्फी यात्रुको संख्या सबभन्दा धेरै २ सय ६५ पुगेको छ।
निगमका अनुसार मंगलबार ओसाकाबाट फर्केर आएको उडानमा १३ बिजनेस श्रेणीका सिट र २ सय ५२ इकोनमी श्रेणीका सिटमा गरी २ सय ६५ जना यात्रु थिए। सबभन्दा कम यात्रु भदौ १३ गते थिए। उक्त उडानमा ४ जना बिजनेश श्रेणीका सहित जम्मा १८ जनामात्रै यात्रु काठमाडौंबाट ओसाका उडेका थिए।
यो एक महिनामा वाइडबडी विमानले दुईतर्फी गरेर २३ सय २६ जना यात्रु ओसारेका छन्। जसमा जापानबाट नेपाल आउनेको संख्या १६ सय १८ छ भने ७ सय ८ नेपालबाट जापान जाने यात्रु थिए।
एक अधिकारीका अनुसार यी सबै उडानमा निगमले सञ्चालन खर्च पनि उठाउन सकेको छैन। एउटा उडानमा करिब २ करोड ५० लाख बराबरको कारोबार भए मात्रै उडान सञ्चालन नाफा हुन्छ। तर निगमले प्रमोसनल फेयरका रूपमा प्रतिव्यक्ति ३७ हजार रुपैयाँमा टिकट बिक्री गरेकाले पहिलो महिनामा एउटा उडानबाट ७ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको छ। ‘एकतर्फी उडानमा ३५ प्रतिशत इन्धन खर्च लाग्छ,’ निगमका एक अधिकारीले भने, ‘३५ प्रतिशत भनेको ७० लाख रुपैयाँ बराबरको इन्धन खर्च हो।’
निगमलाई हाल जापानले सातामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) उडान अनुमति दिएको छ। पहिलो उडानमा यात्रुको संख्या अत्यधिक न्यून भएपछि निगमले भदौ तेस्रो सातादेखि सातामा दुइटामात्रै उडान राखेको थियो।
तर, दसैं र पर्यटकीय सिजन सुरु भएसँगै निगमले असोज ७ देखि सातामा तीन दिन उडान सुचारु गरेको छ। निगमले दसैं र तिहारको अवधिमा २ सय हाराहारी यात्रुको एकतर्फी बुकिङ भएको जनाएको छ। कान्तिपुरमा खबर छ।