कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले दसैंमा मासु अभाव नहुने बताएको छ ।
केही दिनदेखि केही सञ्चार संस्थाले दसैंमा मासु अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि विभागले यसमा सत्यता नरहेको प्रतिक्रिया दिएको हो ।
उपत्यकामा झन्डै ३५ देखि ४० लाख मानिसको बस्ने अनुमान छ । नागढुंगा प्रहरी चेकपोस्टले दसैंमा झन्डै २० देखि २५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ । विदेशबाट स्वदेश आउने अधिकांश मानिस गाउँ नै फर्किने गर्छन् । उपत्यका ट्राफिक प्रहरीका अनुसार गत वर्षको दसैंमा २५ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए ।
अष्टमीदेखि दशमीसम्म ३ दिन उपत्यकामा मासुको धेरै माग र खपत हुने गर्छ । जसका लागि मासु अभाव हुन नदिन पशुपक्षी विभागले आयातमा प्रतिबन्ध नलगाएको तर विदेशबाट आयातित पशुपक्षीको अनिवार्य क्वारेन्टाइन जाँच पास हुनुपर्ने व्यवस्था रहेको विभागका महानिर्देशक डा. वंशी शर्माले बताए । पशुपक्षीविज्ञका अनुसार चौपाया तथा पक्षीलाई यातनापूर्वक ओसारपसार गर्न नपाइने कानुनी प्रावधान छ ।
पशु क्वारेन्टाइन जाँचपास गर्ने निकाय सिन्धुपाल्चोकको तातोपानी, रसुवाको टिमुरे, चितवनको रामनगर, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागढुंगा, साँखु, फर्पिङ, सामाखुसी, टोखामा छन् । पशुपक्षी वा पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै रोग छ/छैन, यकिन गर्न स्थापना गरिएको निकाय हो, पशु क्वारेन्टाइन ।
यातनापूर्वक पशुपक्षीको ढुवानी गर्ने कार्य ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ विपरीत हुन्छ । पशु विकास अधिकृत डा. श्रीराम अधिकारीले यातनापूर्वक ओसारपसार गरिएका पशुपक्षीको मासु स्वस्थ्यका लागि अस्वस्थकर हुने बताए ।
पशुपक्षीको ढुवानी गर्दा नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाँध्ने, क्षमताभन्दा बढी राख्ने, हावादार साधनको प्रयोग नगर्ने, यात्रुवाहक बसको डिक्कीमा राख्ने, ढुवानीका साधनमा उपचार बक्स नराख्ने, बीचबीचमा खाना-पानीको व्यवस्था नगर्ने, साना र ठूला पशु एकै ठाउँमा राखी ओसारपसार गर्ने कार्य पशुपक्षीका लागि यातना दिएको बुझ्नुपर्ने ऐनमा उल्लेख छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५, ले रोगी घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नपाइने किटान गरेको छ तर, त्यस्तो कार्य ढुवानी मापदण्ड, २०६४ अनुसार पशुपक्षीलाई यात्रुवाहक सार्वजनिक सवारीका साधनको छत वा डिक्कीमा राख्न नहुने र मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले रोगी पशुको ढुवानी गरेको प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना तोकेको छ ।
दसैंमा मानिसले मीठा परिकारका रुपमा मासु खाने बानीको साटो दही, दूध, पनिर, खिर, मिठाई, कुराउनी, गुदपाक, पुष्टकारी, च्याउ तथा माछा पनि खाने गर्छन् । पशुसेवा विभागको तथ्यांकमा यस वर्ष उपत्यकामा ६ लाख र उपत्यका बाहिर २७ लाख खसीबोका खपत हुने अनुमान छ ।
खसी-बोकाबाहेक, कुखुरा ९ लाख, राँगा १५ लाख केजी आवश्यक पर्छ । उत्पादनका हिसाबले राँगा १ लाख ७६ हजार, कुखुरा ५५ हजार टन मासुका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ भने त्यसको अतिरिक्त खाद्य संस्थानले २ हजार र निजी व्यवसायीले ६ हजार भेँडा च्याङ्ग्रा ल्याउने भएका छन् ।
व्यापारीले उपत्यकामा तराईका २२ जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाबाट खसी बोका र मनाङ, मुस्ताङ, रसुवा तथा तिब्बतबाट भेडा, च्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन् ।
तीन दिन दसैंमा माछा, भेडा, च्याङ्ग्रा, खरायो, हाँस, लौकाट, अष्ट्रिच, बंगुर, सुँगुर, र बदेलको मासु पनि खपत हुन्छ । माछा १५ देखि २० लाख, भेडा झन्डै ३ हजार, बंगुर २४ हजार, च्याङ्ग्रा करिब २ हजार टन मासुका लागि तयारी अवस्थामा छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा १ करोड २८ लाख खसी, बोका र बाख्रा छन् । जसमध्ये ३० प्रतिशत अर्थात् मासुका लागि ३८ लाख ४० हजार खसी बोका वध गर्न सकिन्छ । ३ दिन दसैंका लागि उपत्यकामा ६ लाख खसी-बोका खपत हुन्छन् । नेपालमा सबैभन्दा धेरै राँगाको मासु खपत हुन्छ । खपतको ६३ प्रतिशत अर्थात् १ लाख ८५ हजार ९ सय ५५ टन राँगोबाट मःमः, छोयला, सेकुवा, भुटन, कचिलालगायत परिकार बनाई खाने चलन छ तर दसैंमा राँगाको भन्दा खसीबोका बढी खपत हुने गरेको पाइन्छ ।
पशुपक्षीपालन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत र कूल कृषि गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य ८ प्रतिशत योगदान पुर्याएको छ भने कुल घरपरिवारको ६० प्रतिशत जनसंख्या रोजगारीमा आबद्ध छन् । -रासस