नेपाली समाज अहिले चाडबाडको मुखैमा छ । हिन्दु बाहुल्यसमाजमा दसैं, तिहार, छट जस्ता पर्वहरु नजिकै आइपुगेका छन् ।
अब नेपालीहरुलाई चाडबाडको रौनकले छोए पनि किनमेल गर्ने समय पनि व्यस्त हुँदै छ । चाडबाडकै माचोमा व्यापारीहरुले विभिन्न अफरसहित आफ्ना उत्पादन बिक्री गर्ने होड पनि चलाइरहेका छन् । उपभोक्तालाई आकर्षित गर्ने विज्ञापनले पत्रपत्रिका, सामाजिक सञ्जाल, सञ्चारमाध्यम पनि ढाकिएका छन् । बजार, चोक, गल्लीहरुमा पनि उपभोक्ता आकर्षित गर्नकै लागि व्यापारीहरुले ठूला-ठूला होडिङ बोर्डहरु राखेका छन् । विशेषगरी चाडबाडको मौकामा उपभोक्ताहरु पनि नयाँ सवारी साधन किन्न लालयित देखिन्छन् । विभिन्न छुटका अफरले पनि उपभोक्ता लोभ्याइरहेको छ ।
उसो त नेपाली उपभोक्ता चाडबाडको मौकामा सवारी साधनका रुपमा स्कुटर र बाइक किन्नेहरु प्रशस्तै हुन्छन् । अहिले त दसैंतिहारजस्ता चाडपर्व नयाँ लगाउने, मीठोमसिनो खानेसँगै नयाँ सवारीसाधन किन्ने पर्वका रुपमा समेत मनाउने थालिएको छ । अझ भन्ने हो भने अहिले गाडी (सवारीसाधन) बिक्री हुने मुख्य सिजनसमेत हो ।
यति बेला व्यवसायीहरू निकै मिहिनेतले धेरैभन्दा धेरै सवारीसाधन बिक्री गर्ने मनसायले दौडधूप गरेको देख्न सकिन्छ । अझ आमउपभोक्ता यानि मध्यमवर्गीय परिवारका लागि सजिलो, सस्तो सवारी साधनका रुपमा मोटरसाइकल र स्कुटरलाई मान्न सकिन्छ ।
दसैं–तिहारलाई नयाँ लगाउने र मीठो खाने पर्वका रूपमा लिने संस्कार सँगै यही मौकामा नयाँ गाडी चढ्नुपर्यो भने चाडबाड नै कुर्ने चलन छ । यस्तै तत्काल पूरै रकम तिर्न नसक्ने उपभोक्ताका लागि पनि प्राय:जसो कम्पनीहरुले फाइनाइन्सको सुविधा दिएका छन् । किस्ताबन्दी रुपमा थोरै थोरै रकम बुझाएर मोटरसाइकल तथा स्कुटर चढ्न पाउँदा मध्यम वर्गीय उपभोक्ताहरु पनि यही चाडबाटकै मौका पर्खिएर बसेका हुन्छन् । यो वर्ष पनि विभिन्न कम्पनीहरुले मोटरसाइकल तथा स्कुटरहरु बजारमा ल्याएका छन् । तीमध्ये मध्यमस्तरीय एवं लोकप्रिय केही मोटरसाइकल तथा स्कुटरहरु यस्ता छन् ।
यामाहा
यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले विभिन्न ९ मोडलका १७ भेरियन्टको बाइक र दुई मोडलका ८ भेरियन्टको स्कुटरको बिक्री गर्दै आएको छ ।
नेपाली बजारमा यामाहाको सलुटो सिरिजका ३, एसजेड आरआर सिरिजका दुई, एफजेड सिरिजका ५ भेरियन्टको बिक्री हुँदै आएको छ । यस्तै फेजर, आर १५, एक्सटिजेड र एमटी मोडलका बाइक बिक्री हुदै आएको छ । स्कुटरतर्फ फेसिनो र रे जेड मोडलको बिक्री भइरहेका छन् । रे जेड आर स्ट्रिट र्याली (यूबीएस) २ लाख १२ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ भने, सस्तो मूल्यको स्कुटरको रुपमा रे जेड १ लाख ८७ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
सबैभन्दा महँगो आरथ्री बाइक ९ लाख २४ हजार ९ सय रुपैयाँ र सस्तो सलुटो ड्रम १ लाख ८७ हजार ९ सय रुपयाँमा बिक्री गर्दै आएको छ । कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै नयाँ ग्राहक योजना ल्याएको छ । जसमा मोटरसाइकल तथा स्कुटरमा स्क्राच कार्डमार्फत ७ हजारदेखि १ लाख रुपैयाँसम्म छुटको अफर छ ।
बजाज
नेपालमा बजाजका बाइकहरू निकै चर्चित छन् । युवादेखि पाको उमेर समूहका लागि बजाजले धेरै मोडलका बाइक बजारमा ल्याएको छ ।
विशेषतः नेपालमा बजाज पल्सर, एभेन्जरलगायत मोडेल लोकप्रिय मानिन्छ । बजाजले महँगोदेखि सस्तोसम्म, विभिन्न मोडलका उच्च गुणस्तरीय मोटरसाइकल भित्र्याउने हुँदा नेपालमा यसको लोकप्रियता बढेको कम्पनीको दाबी छ । यस्तै बजाजको डिस्कभर, प्लाटिना भने सस्तो मूल्यका बाइकमा दरिन्छन् ।
पल्सर एनएस १६० डबल डिस्कको मूल्य यसको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै ४ लाख ६९ हजार ९ सय रुपैयाँ पर्ने डोमिनर बाइक पनि बजाजले बजारमा ल्याएको छ ।
टीभीएस
पछिल्लो समय आक्रामक व्यापार गरिरहेको टीभीएसको पनि मोटरसाइकल र स्कुटर गरेर १ दर्जनभन्दा धेरै उत्पादन नेपाली बजारमा उपलब्ध छन् । टीभीएस अहिले नेपालमा चौथो स्थानमा रहेको र करिब १२ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
टीभीएसले पनि चाडबाड लक्षित अफर ल्याएको छ । यसका मोटर साइकल र स्कुटरमध्ये आरटीआर १६० ४भी, अपाचे आरटीआर २००, फोनिक्स, स्ट्राइकर, भिक्टर लोकप्रिय मानिन्छन् । यस्तै स्कुटरतर्फ टीभीएस एनटर्क युवावर्ग लक्षित गरी डिजाइन गरिएको छ । अझ चलेको त विगो ब्रान्डको हो । जुपिटर, ड्याज, जेस्ट पनि चलेका ब्रान्ड हुन् ।
सुजुकी
जिक्सर बाइक तथा लेट्स स्कुटर सुजुकीका चलेका नाम हुन् । यसले पनि दसैंतिहारका लागि भन्दै अफर सार्वजनिक गर्दै उपभोक्तालाई आकर्षित गरिरहेको छ । नेपालमा सुजुकी बाइकको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स हो । सुजुकीको सबैभन्दा बढी मूल्य पर्ने मोटरसाइकल सुजुकी इन्ट्रयुडरको दाम ३ लाख २९ हजार ९ सय छ । जिक्सर डबल टोन डबल डिक्सको मूल्य २ लाख ७६ हजार ९ सय छ ।
यस्तै जिक्सर एसएफ नर्मल डबल डिक्स तथा सबैभन्दा सस्तो मानिने हायते छ । हयातेको मूल्य १ लाख ७८ हजार ९ सय छ । सुजुकीको महँगो स्कुटर एक्सेस डिक्सको मूल्य २ लाख ५९ हजार छ भने अर्को लोकप्रिय स्कुटर लेट्सको मूल्य १ लाख ८३ हजार ९ सय छ ।
हिरो
हिरो मोटोकर्पको आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङले नयाँ उत्पादन प्रिमियम मोटरसाइकल एक्सपल्स २०० टी र दी स्पोर्टी एक्स्ट्रिम २००एस र रेट्रो स्टाइलका नयाँ प्लेजर प्लस स्कुटरको बिक्री नेपाली बजारमा लोकप्रिय छन् । एक्सपल्स २००टी को मूल्य ३ लाख ३२ हजार रुपैयाँ र एक्स्ट्रिम २००एस को मूल्य ३ लाख २२ हजार रुपैयाँ तथा प्लेजर प्लसको मूल्य १ लाख ८६ हजार रुपैयाँ कायम गरिएको छ ।
होन्डा
होन्डाका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ हो । अहिले होन्डाको एक्स–ब्लेड नेपाली बजारमा लोकप्रिय मानिन्छ । यस्तै होन्डा ग्राजिया आकर्षक तथा स्टाइलिस हुँदा उपभोक्ता यसतर्फ पनि उत्तिकै आकर्षित बनेका छन् । होन्डा ग्राजियाको मूल्य २ लाख १८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यस्तै होन्डाका लोकप्रिय स्कुटरमा डियो, एभिएटर, एक्टिभा अग्रपंतिमा छन् । यस्तै होन्डाका युनिकर्न, सीबीआर, साइन, हर्नेट पनि उपभोक्तामाझ निकै लोकप्रिय छन् ।
अप्रिलिया एसआर
अप्रिलिया एसआर १२५ सीसीको स्कुटर हो । यो स्कुटरको मूल्य २ लाख ३५ हजार ९ सय रुपैयाँ छ । यसमा फाइभ स्पकेट, १४ इन्च ब्ल्याक एलोई ह्विल तथा ट्युबलेस टायरको प्रयोग गरिएको छ । राजधानीका युवामाझ यो स्कुटर अहिले निकै लोकप्रिय बनेका छन् । छोटो समयमै यसले आफ्नो सफल छवि बनाएको छ ।
भेस्पा भीएक्सएल
भेस्पाका स्कुटर आफ्नो फरक स्टाइलका कारण चर्चित छन् । नेपालमा भीएक्सएल मोडल बढी लोकप्रिय छ । यसमा १ सय २५ सीसीको थ्री भल्व इन्जिन छ, जसले १०.०६ पीएस पावर र १०.६ एनएम टर्क प्रदान गर्छ । यसमा मोनोकक फुल स्टिल बडी छ, साथमा थ्री फेज इलेक्ट्रिकल सिस्टम तथा अटो इग्निसन छ । यसको अघिल्लो पांग्रामा डिस्क ब्रेक तथा पछिल्लो पांग्रामा ड्रम ब्रेक जडान गरिएको छ । ट्युबलेस टायरयुक्त भेस्पा भीएक्सएल १२५ को मूल्य ३ लाख ९ हजार ९ सय ४६ रुपैयाँ पर्छ ।