सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन्। गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन्। सुनसरीमा आर्थिक वर्ष २०७५-०७६ मा तीन लाख ९५ हजार ६०० को संख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ।
जिल्लामा आव २०७४-०७५ मा तीन लाख ९२ हजार ७७३ को संख्यामा गाईपालन गरिएको थियो भने आव २०७५-०७६ मा बढेर तीन लाख ९५ हजार ६०० पुगेको विज्ञकेन्द्रका सूचना अधिकारी केशव श्रेष्ठले जानकारी दिए। जिल्लामा आव २०७४-०७५ मा स्थानीय जातका दुई लाख ७४ हजार ९४१ को संख्यामा गाई रहेका थिए भने आव २०७५-०७६ मा दुई लाख ७६ हजार ९२० को संख्यामा स्थानीय जातका गाई रहेका विज्ञ केन्द्रको तथ्याङ्कले देखाएको छ।
त्यसैगरी आव २०७४-०७५ मा वर्णशङ्कर जातका ९४ हजार २६५ र आव २०७५-०७६ मा ९४ हजार ९४४ को संख्यामा वर्णशङ्कर जातका गाईपालन भइरहेका विज्ञ केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताए। त्यसैगरी आव २०७४-०७५ मा उन्नत जातका २३ हजार ५६६ र आव २०७५-०७६ मा २३ हजार ७३६ को संख्यामा उन्नत जातका गाईपालन भइरहेका उनले बताए।रासस