धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झन्डै २ सय कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।
हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ । रेल सञ्चालन गर्न उक्त कम्पनीलाई बलियो बनाउने काम भइरहेको छ । उनले भने, ‘सरकार आफैँले गर्दा खातालगायतका समस्या आउने हुँदा कम्पनीमार्फत सञ्चालनको तयारी गरिरहेका छौँ ।’
कम्पनी चलाउन २ सय बढी जनशक्ति आवश्यक पर्छ । एक प्रमुख, सञ्चालन, मर्मतलजस्ता काममा प्राविधिक, प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएकाले विभागले कर्मचारी माग गरेको हो ।
दुई महिनाभित्रमा रेल नेपाल आइपुग्ने
मुलुकमा रेलसम्बन्धी छुट्टै नियम छैन । पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै यो सञ्चालन भएकोमा अहिले रेल सञ्चालनको छुट्टै विनियमावली बनिरहेको बताइएको छ । उनले भने, ‘रेल सेट आउँदै गर्दा हामीले विनियमावली र सङ्गठन संरचना बनाउने काम अघि बढाएका छौँ ।’
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । सरकारले भारत सरकारसँग दुई रेल सेट खरिद प्रक्रिया गत वर्ष अघि बढाएको थियो । विभागका प्रवक्ता अमन चित्रकारले २ महिनाभित्रमा रेल नेपाल आइपुग्ने बताए । पहिलोचरणमा एउटा सेट मात्र आउनेछ ।
भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल खरिद गर्न लागिएको हो । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा ५ डिब्बा रहनेछ । दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता १२ सयसम्म यात्रु बोक्नेछ । प्रवक्ता चित्रकारले भने, ‘अहिलेको क्षमताभन्दा एक/दुई सय तलमाथि हुनसक्छ ।’
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किमि लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । रेल लाइन तथा रेल्वे स्टेसन तयार भइसकेको उनको भनाइ थियो । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किमिसहित ५२ किमि आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ । गत महिनाको निरन्तर वर्षाका कारण कमला नदीको तटबन्ध बगाउँदा रेलमार्गमा क्षति पुगेको थियो । क्षति पुगेका ठाउँमा निर्माण कम्पनीले केही समयमै काम गरिसक्ने जनाइएको छ । प्रवक्ता चित्रकारले भने, ‘हस्तान्तरण भइनसकेकाले भारतीय कम्पनीले नै काम गर्नेछ ।’
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झन्डै १ वर्षपछि काम सुरु भएको थियो । भारतको सहयोगमा सीमा क्षेत्रमा ५ स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिए । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु ३ स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन । रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किमि रेलमार्गमा १० किमिको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । १० किमि रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।
सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु ३ रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगन्ज रोड–नेपालगन्ज छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो । -रासस