कागेश्वरी–मनहरा र शंखरापुर नगरपालिका देशकै राजधानी काठमाडौंभित्रै पर्छ। राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान्, राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ।
यस्तो लाग्नु स्वाभाविक नै हो। तर, यथार्थमा यस्तो छैन। शंखरापुरको साँखु चावाहिलबाट मात्रै सोढ १२ किलोमिटर पर्छ। दूरीका हिसाबले यसलाई खासै टाडा मान्न सकिँदैन। तर, त्यहाँ पुग्न घण्टौँ लाग्छ। त्यो पनि सडकको धुलो र जाम त सामान्यजस्तै भएको छ।
‘हामीलाई कहिलेसम्म सास्ती दिने ?’, साँखुका स्थानीय रोशन आचार्यले भने, ‘काठमाडौंकै ठाउँमा पनि यातायात जाँदैन भन्नु त लाजै लाग्ने भयो। यो ठाउँ त बत्तिमुनिको अँध्यारो जस्तै छ।’
स्थानीयले साँखुलाई काठमाडौं भन्न पनि लाज लाग्न थालेको बताए। ‘हामीले तिरेको कर कहाँ जान्छ सरकार ? हामीलाई हिलो र धुलोबाट मुक्त भएर हिँड्न देऊ’, स्थानीय मिलन खड्काले भने, ‘यो देशकै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो। तर, यहाँको अवस्था यस्तो छ। के यो काठमाडौं भन्न लाइकको छ त ?’
सडक खण्ड पाँचवटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको छ। यो सडक निर्माणको जिम्मेवारी युनाइटेड बिल्डर्स, वज्रगुरु, च्याङमिला, खानी, बिरुवा, बिटी, सुनकोसी, वल्डवाइड, लामा, समानान्तरले लिएका छन्।
०७२ असोज १३ गते लागेको ठेक्काको म्याद दुई पटक थप भइसकेको छ। आयोजनाले अहिलेसम्म ५१ प्रतिशत मात्रै भौतिक प्रगति भएको जनाएको छ। एक अर्ब ७३ करोड ५४ लाख १५ हजार रुपैयाँमा ठेक्का लगाइएकोमा ९५ करोड ४६ लाख ८६ हजार रुपैयाँ ठेकेदारले प्राप्त गरेका छन्। शुक्रबार सडकको अनुगमनका लागि गएको विकास तथा प्रविधि समितिको टोलीसँग स्थानीयले सरकारको बेवास्ताका कारण सडक बन्न नसकेको भन्दै आक्रोश पोखे। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा होटल हायतसम्म पिच भयो। तर, उनी गएको एक हप्तामै उप्कियो’, चुचेपाटीका स्थानीय विजयसागर महर्जनले भने, ‘यो त काठमाडौंको मुटु हो। हुम्ला–जुम्ला त हैन नि ! सांसद आए पनि यहाँ हुने केही छन। यस्ता अनुगमन त कति आए कति।’अन्नपूर्ण पाेस्टमा खबर छ।