कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ। अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको युरियाको प्रयोग गर्नुपरेको छ। व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन्। भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन्।
‘भारतबाट खरिद गरेर मल ल्याउँदा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ल्याउन दिँदैनन्’, स्थानीय किसान बाधुराम चौधरीले भने, ‘बजारमा युरिया मल छैन । पाइएको मल खरीद गरिनसक्नु मूल्यको छ ।’
धान रोपेको महीना दिन बित्नै लाग्दा पनि मल नपाइएको किसानले बताएका छन्। भारतबाट भित्र्याइएको युरिया ४५ किलोको बोराको किसानले दुई हजार ३० तिर्नुपरेको छ । मल बिक्रेताले मनोमानीरुपमा मूल्य कायम गरी मल अभाव भएको फाइदा उठाउँदै चर्को मूल्यमा युरिया मल बिक्री गर्दै आएको किसानको गुनासो छ । अनुदानको रासायनिक मलको बिक्री दररेट प्रतिक्विन्टल रु एक हजार ६६२ छ ।
अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीको शाखा भीमदत्तनगरले मागअनुरूपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो । कृषि सामग्री कम्पनीले यस वर्ष ८१ मेट्रिकटन मात्रै रासायनिक मल आपूर्ति गरेको थियो ।
सो मल असार महीनामै सकिएको छ । कम्पनीको दुई हजार ५०० मेट्रिकटन युरिया खरीद गर्ने लक्ष्य भए पनि थोरै मात्रै आपूर्ति हुँदा अभाव भएको कम्पनीका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए। युरिया समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुन नसकेको उनको भनाइ ।