ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८ सय २२ चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आव ०७५/७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने सवारीसाधनलाई कारबाही गरेको हो ।
महाशाखाका प्रवक्ता, (प्रहरी उपरीक्षक) रविकुमार पौडेलले आफ्नो लेनबाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिए । 'हतारोले अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं,' उनले भने ।
महाशाखाले सीसीटीभी, ग्रोप्रो क्यामरा, बडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारबाही गर्दै आएको छ । सीसीटीभीबाट लेन अनुशासन कायम नगरेको भेटिए सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिबानासमेत गर्ने गरिएको छ ।
कारबाही परेकामध्ये ४० हजार ६ सय १९ पुरुष र २ हजार २ सय ३ महिला छन् । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ५ सय रुपैयाँ जरिवाना र १ घण्टा सचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले २०७१ असोज २६ देखि लेन अनुशासन कारबाही गर्दै आएको हो । महाशाखाले हालसम्म ३ लाख ८ हजार ५ सय ४७ चालकलाई लेन अनुशासनमा कारबाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताए ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौं उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । -रासस