प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा करिब २ लाख बेरोजगारले १३ दिन रोजगारी पाएका छन्। सरकारले न्यूनतम रोजगारीको ग्यारेन्टी गर्दै ती बेरोजगारलाई औसतमा १३ दिनको रोजगारी दिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १७ लाखभन्दा बढी युवा बेरोजगारमा सूचीकृत भएका छन्।
सरकारले गत वर्ष ३० दिनको रोजगारी दिने घोषणा गरे पनि १३ दिनका लागि मात्रै काम पाएका हुन्। रोजगारीको हकसम्बन्धी ऐनले एक वर्षमा कम्तीमा पनि सय दिनको रोजगारी ग्यारेन्टी गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चालू आर्थिक वर्षमा सुरु भएको उक्त कार्यक्रमका लागि नीतिगत व्यवस्था गर्नुपरेकाले औसतमा १३ दिनमात्रै रोजगारी दिन सकिएको बताए।
८६ वटा प्रक्रिया पूरा गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाइएकाले अपेक्षाकृत रोजगार सिर्जना हुन नसकेको मन्त्री विष्टले बताए। यस कार्यक्रमका लागि गत वर्ष रोजगार ऐन, रोजगार नियमावली, प्रधानमन्न्त्री रोजगार कार्यक्रम निर्देशिका, रोजगार सेवा केन्द्र, रोजगार संयोजक चयनमा काम गर्नुपरेकाले प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे। अन्नपूर्ण पाेस्टमा खबर छ।