मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्षको बजेटभन्दा ६ अर्ब रुपैयाँले बढी हो।
भन्सार विभागका अनुसार अर्थिक २०७५/७६ मा व्यापार घाटा १३.५५ प्रतिशतले बढेको छ। आव २०७४/७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो। २०७५/७६ मा मुलुकको कुल व्यापारको आकार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो। जसमध्ये १४ खर्ब १८ अर्ब ५३ करोडको आयात भयो भने ९७ अर्ब १० करोड रुपैयाँको मात्रै निर्यात भएको छ। आयात व्यापार १३.९३ र निर्यात व्यापार १९.३६ प्रतिशतले बढेको विभागले जनाएको छ।
न्यून उत्पादनसँगै विलासिताका वस्तुको आयात वृद्धिले व्यापार घाटा बढाउन सघाएको छ। विज्ञहरूका अनुसार मुलुकभित्र उत्पादनसँगै उत्पादकत्व वृद्धि हुन सकेको छैन। कृषि क्षेत्रको जनशक्तिसमेत पलायन हुँदै गएको छ।
यसले मुलुक कृषिजन्य वस्तुमा समेत परनिर्भर हुनुपरेको छ। ‘मुख्यतः उत्पादन नै छैन। कृषिका लागि जनशक्ति छैन। खेतीका लागि मौसममा भर पर्नुपर्ने बाध्यता छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘खेतबारी बाझिएर कृषिजन्य वस्तुमै परनिर्भर बन्नुपर्ने बाध्यता छ।’
भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेसिनरी, यातायात र पार्टपुर्जा, खाद्यान्नलगायतको आयात उच्च छ। पहिलो नम्बरमा इन्धन आयात पर्छ। खाद्यान्न खरिदमा गत आर्थिक वर्षमा ५१ अर्ब रुपैयाँ बाहिरिएको छ। मुख्य बाली धान, मकै, गहुँसमेत अर्बौंको आयात हुने गरेको छ। २८ अर्बको तरकारी र ३७ अर्बको खाने तेल आयात भएको छ। ‘कृषिजन्य वस्तुमै परनिर्भर हुँदा व्यापार घाटा भयावह बन्दै गएको छ,’ ओझाले भने। कान्तिपुरमा खबर छ।