विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो। विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये सरकारी कागजात लुकाई भ्रष्टाचार गरेको अभियोगमा १ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ।
नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुत लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास गरेका थिए। कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसहित महत्वपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए। गुप्ताको डेरामा छापा मारेर अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको थियो।
त्यस्तै, मालपोत कार्यालय कलैया र सिमराबाट ७ करोड ९ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर अपचलन गरेको दुई वटा मुद्दामा धरौटी माग्ने आदेश भएको छ। कलैयामा रहँदा राजस्व छली गरेको अभियोगमा नासु गुप्तालाई २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको छ। उनले कलैयामा रहँदा नक्कली रसिद बनाएर २ करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ राजस्व हिनामिना गरेका थिए।
सक्कली रसिदबाटै संकलन गरिएको राजस्वसमेत व्यक्तिगत खातामा जम्मा गरेका थिए । २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म उठाइएको राजस्व हिनामिना गरेको खुलेको छ। राजस्व हिनामिनाको तेस्रो मुद्दामा सिमरा मालपोत कार्यालयमा रहँदा आठ महिनामा ४ करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अभियोगमा ६० लाख रुपैया धरौटी माग्ने आदेश गरेको छ। मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका थिए। अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए। राजधानी दैनिकमा खबर छ।