निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बंगलादेशको राजधानी ढाका उडान गर्ने भएको छ ।
बंगलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष्य गर्दै कम्पनीले काठमाडौँ-ढाका सीधा उडान थाल्ने जनाएको हो । काठमाडौं-ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
उनले पर्यटकीय सम्भावना बोकेको गन्तव्य बंगलादेशमा आफ्नो सञ्जाल विस्तार गर्न पाएकामा निकै उत्साहित भएको उल्लेख गरे । हिमालयको तालिकाअनुसार एचनाइन ६७८ काठमाडौँबाट स्थानीय समय ११:१० मा उडान भर्नेछ र स्थानीय समय १३:१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । सोही दिनको ढाकाबाट एचनाइन ६७९ जहाजले स्थानीय समय २:१० मा उडान गरी काठमाडौँमा दिउँसो ३:२० मा अवतरण हुनेछ ।
यो एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०-२१४ विमानबाट ढाका उडान गर्नेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०-२०० को ३ वटा जहाज छन् । व्यावसायिक, अध्ययन तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने दुवै प्रकृतिका यात्रु लक्षित गरी उडान तालिका सार्वजनिक गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने विज्ञप्तिमा भनिएको छ । हिमालयले हाल कतारको दोहा, दुबई-आबुधाबी र दमामको नियमित उडान गर्दै आएको छ । सन् २०१९ भित्रै चीनका विभिन्न गन्तव्यमा समेत उडान गर्ने कम्पनीको योजना छ ।
नेपाली पर्यटनका लागि बंगलादेश ठूलो स्रोत बजार हो । नेपाल पर्यटन बोर्डको विवरणअनुसार बंगलादेशबाट सन् २०१८ मा २६ हजार २५५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष २९ हजार ६० पर्यटक नेपाल आएका थिए । -रासस