सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो।
विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गाजमिनसहितको लगानीलाई पनि छानबिनको दायरामा ल्याएको छ। गुरुङले तयारी कपडा आयात गर्दा सरकारलाई बुझाउनुपर्ने राजस्वमा छली भएनभएको विषयमा पनि अनुसन्धान भइरहेको स्रोतले जानकारी दियो।
आयोग र ब्युरोले छानबिन थालेपछि ढकाल र सुवेदी फरार भइसकेका छन्। विभाग उच्च स्रोतका अनुसार ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिनामा संलग्न गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुका परिवारको नाममा रहेको चलअचल सम्पत्ति खोज्न विशेष टोली खटिएको छ। जग्गा हडप्नेमध्येका तीनजनाबाहेक राणा परिवारबाट मोहीको नाममा जग्गा पाउने पनि विभागको छानबिन दायरामा परेका छन्। नागरिक दैनिकमा खबर छ।