नेपाल अन्डा उत्पादक संघ केन्द्रीय समितिले कृषकले पाउने अन्डाको मूल्यवृद्धि गरेको छ । संघले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अन्डाको प्रतिक्रेट २५५ र मध्यम अन्डाको प्रतिक्रेट १७० कायम गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
यसअघि कृषकले ठूलो अन्डाको प्रतिक्रेट २ सय रुपैयाँ र मध्यम अन्डाको प्रति क्रेट १ सय १५ रुपैयाँ पाउँदै आएका थिए । अध्यक्ष कँडेलले बजारमा अन्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताए । जिल्लामा लामो समयदेखि मागभन्दा बढी अन्डा उत्पादन भएपछि भाउ घटेको थियो ।
अन्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालकले लागतभन्दा पनि कम मूल्यमा अन्डा बिक्री गर्दै आइरहेका थिए । कँडेलका अनुसार प्रतिअन्डाको लागत मूल्य १० रुपैयाँ पर्न जान्छ तर कृषकले ७ मा वितरकलाई बिक्री गर्दै आएका थिए ।
बजारमा एउटा अन्डाको १५ पर्छ । नेपालमा दैनिक ३५ लाख अन्डा उत्पादन हुन्छ । यस पेसाबाट प्रत्यक्ष रूपमा १ लाख ७५ हजारले रोजगारी पाएका छन् । २ हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । व्यवसायमा ७० अर्बभन्दा बढी लगानी छ । -रासस