राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्राष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ।
निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ। जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर थियो।
तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको छ। ‘निगमका जहाज नियतवश ग्राउन्डेड गरेर भाडामा निजी जहाज कम्पनीलाई दिने कुत्सित उद्देश्यले काम भइरहेको छ,’ एक स्रोतले बतायो। दैनिक १८ घन्टा उड्न सक्ने वाइडबडी जहाज हाल नौ घन्टा मात्रै उडिरहेको छ भने १६ घन्टा उड्न सक्ने न्यारोबडी जहाज नौ घन्टा १५ मिनेट मात्रै उडिरहेका छन्।
जहाज ल्याउनुअघि बनाइएको व्यावसायिक योजना लागू गर्नु कता हो कता, यसलाई बेवास्ता गरिएको छ। आर्थिक लाभ आर्जन गर्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रिय उडानबाट घाटा भइरहेको छ।
निगमले वाइडबडी जहाजले पहिलो चरणमा जापान र कोरियामा उडान गर्ने योजना बनाइएको थियो। सो योजनाअनुरूप करिब डेढ वर्षअघि नै जापान र कोरियामा जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको थियो।
तर, ती मुलुकमा जिएसए नियुक्तिको टुंगो करिब एक वर्षअघि नै लागे पनि उनीहरूलाई काम गर्न दिइएको छैन। कोरियाका लागि प्यासिफिक एयर एजेन्सीलाई जिएसएमा नियुक्ति गरिएको थियो। तर, कोरियाको उड्डयन नियामक निकायले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिनुअघि नेपालको हवाई सुरक्षा परीक्षण गर्नुपर्ने भन्दै पत्राचार गरेको थियो। नेपाल एयरलाइन्सले नै उनीहरूलाई यहाँ ल्याउने र राख्ने निर्णय भएको थियो।
‘कोरियाली अधिकारीलाई नेपाल आउने दिनसमेत उल्लेख गरी औपचारिक पत्र पठाउनुपर्नेमा हालका कार्यकारी अध्यक्ष मदन खरेलले त्यो रोकेर राखेका छन्,’ निगम स्रोतले भन्यो, ‘निगमको कोरिया उडान कुनै हालतमा रोक्ने नियत खरेलले राखेको देखियो।’ नयाँ पत्रिकामा खबर छ।