मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना ११ दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनामा कार्यरत कामदार र कर्मचारीले जेठ २० गतेदेखि तालाबन्दी गरेर कामकाज ठप्प पारेका हुन् ।
निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्नेलगायतका माग राखेर कुश्मा नगरपालिका–८ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्य समेत १० दिनदेखि बन्द छ । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।
आयोजनामा कार्यरत ४० कर्मचारीले जेठ २० देखि काम बन्द गराएपछि निर्माण प्रभावित भएको छ । ‘हामी शुरुदेखि निर्माणकार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिई बाहिरबाट कर्मचारी राख्ने काम भएको छ’, आयोजनामा कार्यरत कर्मचारी एकनारायण गिरीले भने, ‘हामीलाई स्थायी गर्ने विषयमा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’ कर्मचारीले यसअघि जेठ ८ देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए तर २० गतेपछि समस्या समाधान गर्ने सहमतिमा खुलेको भए पनि आजसम्म पहल नभएको उनीहरूको गुनासो छ ।
लामो समयसम्म पनि आयोजनाले आफ्ना माग सुनुवाइ नगरेपछि कार्यरत कर्मचारीले मङ्गलबार र बुधबार दिनभर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । आफ्ना माग पूरा गराउन पहल गरिदिन माग गर्दै प्रशासनमा आएको उनीहरूले बताएका छन् । यता आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जानकारी दिएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीको रूपमा राखेर काम गराइएको तर स्थायी नभएको बताए।
यसैबीच जिल्ला प्रशासन कार्यालयले आयोजना पक्ष र कर्मचारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । मङ्गलबार र बुधबार दुवै पक्षसँग छलफल गरिएको र एक÷दुई दिनमा संयुक्त छलफल गराएर आयोजनाको काम सञ्चालन गराउने पहल गरिने सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिए।