विश्व बैंकले चालु आर्थिक वर्ष २०१९ मा नेपालमा ७ दशमलव १ प्रतिशतको आर्थिक वद्धि हुने प्रक्षेपण गरेको छ।
बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच प्रतिवेदन सार्वजनिक गर्दै नेपालको सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने भन्दै विश्व बैंकले खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा पनि प्रगति भएको जनाएको छ।
यस्तै रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको बैंकले बताएको छ। निजी लगानी र उपाभोग बढनुले ७ अंक माथिको आर्थिक वृद्धिको मुख्य भूमिका खेलेको विश्व बैंकको निश्कर्ष छ। विश्व बैंकले यो वर्ष ४ दशमलव १ प्रतिशतको मूल्यवृद्धि हुने बताएको छ। त्यस्तै पर्यटन आगमन बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको विश्व बैंकले जनाएको छ।
कृषि क्षेत्रमा मात्रै ५ प्रतिशतको वृद्धि देखिने भन्दै विश्व बैंकले यो ३० वर्षको औसत ३ दशमलव १ प्रतिशत भन्दा उच्च भएको बताएको छ। प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिवेदनले औल्याएका सुझाव र प्रक्षेपणको स्वागत गर्दै संघीयता संस्थागत गर्ने चुनौती रहेको बताए। उनले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत सुधार गर्दै आएको बताए।
यस्तै बढ्दो ब्यापारीकण, मल र बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रको विस्तार गर्न सहयोग पुगेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।