एनआईबिएल एस क्यापिटलले नेपालमै पहिलोपटक खुलामुखी सामूहिक लगानी कोष योजनाअन्तर्गत ‘एनआईबिएल सहभागिता फण्ड’ नामक योजना सञ्चालनमा ल्याएको छ ।
एनआइबीएल सहभागिता फन्डको ५ करोड इकाई (युनिट) निष्कासन खुला गरिएको हो । जसमध्ये बीज पुँजीबापत १० लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधरणलाई खुला गरिएको हो । यसमा चरणबद्ध रुपमा आवेदन दिन सकिनेछ । पहिलो चरणमा भने सर्वसाधारण लगानीकर्ताले १ करोड २५ लाख इकाईका लागि मात्रै आवेदन दिन सक्नेछन् । यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ ।
त्यस अवधिमा सबै इकाई बिक्री नभएमा असार १६ गतेसम्म आवेदन खुला रहनेछ । एनआइबीएल सहभागिता फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन पाइनेछ । तत्कालको लागि योजना व्यवस्थापक र कोष प्रवर्द्धकको निश्चित शाखा कार्यायलहरुलाई खरिद बिक्रीको लागि जिम्मेबारी दिन तयारी भएको एनआईबिएलले जनाएको छ । उक्त योजनाको शुभारम्भ गर्दे नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पूँजी बजारमा नयाँ अध्याय थपिएको बताए। नेपालमै पहिलोपटक खुलामुखी योजना संचालनमा आएको भन्दै उनले लगानीकर्ताहरुलाई थप नयाँ लगानीको बाटो खुला भएको बताए।
उनले पूँजी बजार विस्तारका क्रममा रहेको बताउँदै पर्याप्त व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे। खुलामुखी योजनाले लगानीकर्ताहरुलाई फाइदा पुग्ने उनको भनाइ छ ।