सिन्धुलीको गोलन्जोर गाउँपालिका ६, बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ ।
सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो । गोलन्जोर गाउँपालिकाले आव ०७५/७६ मा छुट्याएको रु २५ लाखले लिफ्ट निर्माण गरिएको हो ।
थ्री एचपीको मोटरबाट तानिएको पानी १ लाख ८ हजार घनमिटरको ट्याङ्कीमा जम्मा गरी अहिले खोनपानी वितरण गरिएको छ । एक घर एक धारा सरकारको लक्ष्यअनुरुप त्यस क्षेत्रमा खानेपानी वितरण गरिएको गोलन्जोर गाउँपालिका ६ का वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए । गोर्खा भूकम्पले खानेपानीको मुहान सुक्दा खानेपानीको हाहाकार भएको स्थानीय गोपाल मङ्ग्रातीको भनाइ छ ।
गाउँमा खानेपानीको स्रोत नभएपछि वर्षाको समयमा आकाशे पानी तथा हिउँदमा २ घण्टासम्म लगाएर पानी खोज्न जानुपर्ने बाध्यता हटेको स्थानीय अप्सरा बसेलले बताइन् । सुनकोशीबाट ५ सय मिटरको उचाइमा लिफ्टबाट त्यस क्षेत्रका बासिन्दालाई खानेपानी वितरण गरिएको लिफ्ट खानेपानी उपभोक्ता समिति अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । -रासस