पश्चिमाञ्चल विकास मञ्चको राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारण सभाले उद्यमी चन्द्रप्रसाद ढकाललाई पुनः अर्काे कार्यकालका लागि अध्यक्ष चयन गरेको छ।
साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले सो मञ्चको गठन गरिएको हो।
नवनिर्वाचित ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्सका अध्यक्ष हुन्। मञ्चको उपाध्यक्षमा साविकको धौलागिरी अञ्चलबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदनकुमार महत र लुम्बिनीबाट शोभाकर न्यौपाने तथा महासचिवमा यादव भट्टराई, सचिवमा नारायणप्रसाद तिम्सिना र कोषाध्यक्षमा योगराज कँडेल शर्मा निर्वाचित भएका छन्। त्यस्तै साविकका तीन अञ्चलका सबै जिल्लाहरुबाट गरी कार्यसमितिमा १७ जना सदस्य निर्वाचित भएका छन्।
अध्यक्ष चन्द्रप्रसाद ढकालले देश अहिले संघीय शासन प्रणालीमा गएको भए पनि साविकको पश्चिमाञ्चाल विकास क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि एक भएर साझा चौतारीका रुपमा काम गर्नेगरी स्थापना भएको विशुद्ध सामाजिक संस्थाका रुपमा सो मञ्च स्थापना भएकोले यसै नामबाट नै सञ्चालन गरिएको जानकारी दिए।