इजरायलको दक्षिण क्षेत्र किबुज अलिमियामा एक महिनाअघि भएको हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शान्तिको कामना गर्दै नेपालका लागि इजरायलका राजदूत हनान गोडरेरले बिहिबार बालुवाटारस्थित आफ्नै निवासमा दीप प्रज्ज्वलन एवं श्रद्धाञ्जली सभा गरे।
बमबारुदको छर्रा लागेको शरीरमा आफूले लगाएको कपडा बेरेर रगत रोकी बाँच्न पाएका तीनजना नेपाली विद्यार्थी पनि श्रद्धाञ्जली सभामा उपस्थित थिए। श्रद्धाञ्जली सभामा देखाइएको हमासले गरेको आक्रमणको भिडियो हेर्दै वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरीले आफूहरु लुकेर बाँच्न सफल भएको बताइरहदा तिनका आँखामा एक किसिमको त्रास देखिएको थियो।
आफूसंगैका १० जना साथीलाई बङ्करभित्रै हमासले गोली हानेको र लुकेर बस्दा घाइतेहरु छट्पटाएर पानी पानी भनेको कुरा सुनाइरहदा वीरेन्द्र चौधरी निकै भाबुक देखिन्थे। हमास आक्रमणको कहालिलाग्दो अवस्था चित्रण गरिरहदा हत्या गरिएका १० जनाको तस्वीरसहित मैनबत्ती बालेर दूतावासले उनीहरुको सम्झना गरेको थियो। अर्को छुट्टै तस्वीर राखिएको थियो, हराएका अर्का नेपाली विद्यार्थी विपिन जोशीको। टेवुलमा राखिएका १० मध्ये तीनवटा मैनबत्ती केही बेरमा निभ्न पुग्दा प्रमोद केसीले मन थाम्न सकेनन्। आँखाभरी आँसु पारेका उनले निभेका मैना पुनः बालिदिए।
सो आक्रमणमा परी घाइते भएर इजरायलमै उपचार गराइहेका तीनजना नेपाली विद्यार्थीसंग राजदूत गोडेरेरले टेलिफोन सम्पर्क गराएका थिए। केही बेर उनीहरुले अस्पतालको बेडबाट कुरा गरे पनि प्राविधिक कठिनाईका कारण लामो समय कुरा हुन सकेन।
सामान्य उपचारपछि नेपाल फर्केका धनबहादुर त्यो कहालीलाग्दो क्षण कहिल्यै बिर्सन सक्दैनन्। उनको भनाईमा बिहान ५ बजे सुतिरहेका बेला गोला बारुद र बम खस्न थालेपछि १७ जना नेपाली सुरक्षित हुने आशमा बङ्करमा लुक्न गएका थिए। तर उनीहरुको त्यो आशा लामो समय टिक्न सकेन। करिब ८ बजे उनीहरु लुकेको बङ्करभित्रै आतङ्ककारीले बम फाले। त्यसमध्ये एउटा बम विपिनले समाएर अर्कोतर्फ फालिदिएको बताउँछन् धनबहादुर। कतिसम्म भने आतङ्ककारीले बङ्करभित्रै पसेर अन्धाधुन्दा गोली चलाए। हमासले आफ्नै आँखा अगाडि विपिनलाई अपहरण गरेको चौधरीले सुनाए। घाइतेनामध्ये कसैको खुट्टाबाट रगतको धारा बगिरहेको थियो भने कसैको छातीमा गोली लागेको थियो।
सल्यानका प्रमोद केसी बङ्करभित्र पनि असुरक्षित महसुश गरिरहेका थिए। किचनको बेसिनको तल्लो भागमा बसेर ज्यान जोगाउन सकेको उनले सुनाए। केसीले भने, ‘भगवानले हात थापेर होला र हमास आतङ्कवादीको आँखा म माथि परेन, त्यसैले बाँच्न पाएँ।’ उनको भनाईमा आक्रमणकारी किचनभित्र पसेर गोली चलाएका थिए। उनीहरूले छाडेको अश्रु ग्यासले गर्दा श्वास फेर्न पनि समस्या भइरहेको थियो।
केहीबेरमा इजरायली प्रहरीले उद्धार गरेर उनीहरुलाई किचन बङ्करमा पु¥यायो। घाइतेको उपचारका लागि एम्बुलेन्स आएको भन्ठानेर केही नेपाली विद्यार्थी बाहिर के निस्केका थिए, हमासले पुनः उनीहरुमाथि गोली चलायो। किचनको अवस्था यस्तो थियो कि रगतको आहाल बनिसकेको थियो। जेनतेन सास फेरिरहेकाहरु पानी पानी भनिरहेका थिए। तर उनीहरुलाई पानी दिनेसमेत कोही भएन। जसले गर्दा एकपछि अर्को गर्दै नेपाली विद्यार्थी हताहत भए। बेलुका ५ बजे इजरायली सेनाले उद्धार गरेर घाइतेहरूलाई अस्पताल पु¥याइएको थियो भने सामान्य घाइते केहीलाई अर्कै बङ्करमा सारिएको थियो।
लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि अध्ययनका लागि गत असोजमा यी नेपाली विद्यार्थी इजरायल पुगेका थिए। १७ जना विद्यार्थीमध्ये गणेशकुमार नेपाली, पदम थापा, प्रवेश भण्डारी, राजेशकुमार स्वर्णकार, राजेश फुराला, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, दिपेशराज विष्ट र आनन्द साहको निधन भएको छ। एकजना विपिन हमासको अपहरणमा परेका छन्। उनलाई अपहरणकारीले अझै छाडेका छैनन्। तीन जना घाइते सामान्य उपचारपछि नेपाल फर्केका छन् भने बाँकी तीनजनाको इजरायलमा नै उपचार भइरहेको छ।
श्रद्धाञ्जली कार्यक्रममा राजदूत गोडरेरले सर्वसाधारणलाई घरबाट निकालेर हत्या गर्ने, वृद्धवृद्धा र बालबालिका अपहरण गर्ने तथा गर्भवती महिला र दुधे बालकलाईसमेत नछाड्ने आतंककारी हमासका गतिबिधि आतंकारी भएको आरोप लगाए। हमासले यस्ता अतंककारी गतिबिधि गरे पनि इजरायलले मावनीयता देखाउँदै प्यालेष्टिनी नागरिक र बालबालिकाहरूलाई नियतपूर्वक मार्ने वा दुःख दिने काम नगरेको दावी गरे।
उनले भने ‘उनीहरूलाई गाजा क्षेत्र छाडेर सुरक्षित स्थानमा जान इजरायलले दुई साताको समय दिएका छ।’ इजरायल पटकपटक युद्धबाट पछि हटेको स्मरण गर्दै राजदूतले यसलाई हमासले इजरायलको कमजोरीको रूपमा लिएको उल्लेख गरे। उनले आफ्ना नागरिकको रक्षाका लागि इजरायल युद्धबाट पछि हट्न नसक्ने प्रष्ट पारे। हमासको आक्रमपछि नेपाल फेर्कका ३० जना नेपाली पुनः इजरायल जान चाहेको राजदूतले जानकारी दिए।