मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरे । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका थिए।
दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरेका थिए । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो ।
मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिएका थिए । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।
परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो ।
स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो । जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ ।
बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ । संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिए ।