प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताएका छन् । नुवाकोटको विदुरमा शुक्रबारदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको दावी गरे ।
तेह्र महिनाअघि आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा कमजोर भएपनि अशिले अर्थतन्त्रमा निकै सुधार भएकाले यही क्रम रहेमा विस्तारै मुलुकलाई समृद्धितर्फ लैजान सकिने प्रधानमन्त्री दाहालको विश्वास छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माणको कार्य प्रारम्भ भएकाले सुध्रिएको अर्थतन्त्रको कारण उत्पादन, रोजगार र जनमुखी बजेट ल्याउन केन्द्रित हुने प्रधानमन्त्री दाहालले उल्लेख गरे । उत्पादन र रोजगारका निमित्त कृषि क्षेत्रको विकासलाई आधुनिकीकरणतर्फ लम्काउने प्रयासमा वर्तमान सरकार सक्रियरूपमा लागिरहेको उहाँको भनाइ थियो ।
पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीन र भारतीय समकक्षीसँग छलफल भइरहेकाले देशको विकास र समृद्धि छिट्टै नयाँ चरणमा प्रवेश गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।