नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदलाई निर्देशन दिएको छ।सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन दिएको हो।
प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसका सांसद निरन्तर रुपले सभा र समितिमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताए। उनले संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदलाई राजधानी नछोड्न निर्देशन दिइएको बताए। यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिनुपर्नेछ ।
बैठकले सभा र समितिको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ। बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ। त्यसैगरी कांग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दललाई अपिल पनि गरेको छ।
यस्तै, बैठकले संसदीय दलको विधान अनुरुप दलको समितिमा संयोजक तोकेको छ। जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौडेल र कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा वि.क., राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी वोखिम लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको प्रमुख सचेतक लेखकले जानकारी दिए।
कांग्रेस संसदीय दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कोशी प्रदेशको एक जना उम्मेदवार पराजित हुनुलाई अनपेक्षित र गम्भीरतापूर्वक लिएको छ। दलको आज बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो । साथै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी हुनुभएको थियो । निर्वाचनमा कांग्रेसका १० जना उम्मेदवार विजयी भएका थिए ।