सत्तारुढ प्रमुख दलहरु कांग्रेस र माओवादी प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिन सकारात्मक भएका छन्। बालुवाटारमा बुधबार बिहान बसेको बैठकमा उनीहरुले त्यसबारे सकारत्मक धारणा बनाएका हुन्।
अहिले नै कति सिट एमालेलाई दिने भन्ने टुंगो नलागेको भए पनि तीन सिटसम्म दिने कुरा भइरहेको छ। एमालेले त्यति सिटमा चित्त बुझाएमा आजै बस्ने बैठकमै पनि राष्ट्रिय सभामा दलहरुले सिट भागबन्डा टुंगिन सक्नेछ। एमालेलाई पनि सहमतिमा लैजानु पर्ने भएकाले राष्ट्रिय सभाको सिटमा साझेदारी गर्न खोजेको कांग्रेसका एक नेताले बताए।