सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न सुरू गरिएकाे छ । सुनकोशी-मरिन डाइभर्सन परियोजनाले शुक्रबारबाट अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालेको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सुरुङ खन्ने कामको लागि टिबिए मेसिनको स्विच अन गरेपछी सुरुङ्ग खन्न सुरु भएको हो ।मन्त्री भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताइन्। उनले आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने विश्वास व्यक्त गरिन् । खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ उनले भनिन् त्यो पनि यहीँका किसानको हातमा पैसा बस्छ ।
ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै १३.३ किलोमिटरको सुरुङ खनिसक्ने गरी गरी तालिका बनाएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सन संरचना निर्माण गरि सुनकोशीको पानी मरिणमा खसालिने छ । सुनकोशी नदीको करीब ६७ क्यूमेक पानी सुरुङमार्फत मरिन खोलामा पुर्याइनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।
मरिनबाट बाग्मतीमा मिसिएको पानीलाई सिँचाइ आयोजनामार्फत मधेशमा सिँचाइ सुविधा पुर्याउने योजना छ ।आयोजनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाहरुका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यो परियोजनाबाट ३१.०७ मेगावाट क्षमताको जलविद्युत समेत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।
टीबीएममार्फत ५.५ डायमिटरको सुरुङ रहने गरी ६.६ डायमिटरको सुरुङ खनिनेछ । यो वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
२०७७ सालमा शिलान्यास गरेको राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनामा अहिलेसम्म ८ प्रतिशतमा सकिएको छ । हेडवर्क्ससहित यो आयोजना सक्न ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।